काठमाडौं – बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको (कोभिड–१९) कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ ।
‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले जारी गरेको सूचनामा १६ जनवरी, २०२१ मा सो खोपलाई अनुमति दिएको उल्लेख छ । तर खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जानकारी दिन प्रकाशित सूचनामा भने विभागका अधिकारीले १७ फेब्रुअरी २०२१ मा हस्ताक्षर गरेका छन् ।
चीनले नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । अनुमतिपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको छ । हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग हुँदै आएको छ ।