काठमाडौं – नेपाल टेलिकमले विभिन्न सेवाहरुको जानकारी दिनको लागि ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत जानकारी प्राप्त गर्न सकिने गरी यो सेवा शुभारम्भ गरिएको जानकारी दिएका छन् । कम्पनीको वेभसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखापर्ने र त्यहिबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सकिने पनि सह–प्रवक्ता लोहियाले जानकारी दिएका छन् ।
च्याटबोटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली वा अङ्ग्रेजी भाषाको छनौट गरी प्रश्न लेखि जिज्ञासा राख्न सकिनेछ । कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिको बारेमा च्याट गरेर सजिलै जानकारी प्राप्त गर्न सकिनेछ ।
च्याटबोटको माध्यमबाट विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र गुनासो गर्न सकिने व्यवस्था समेत गरिएको छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभागका पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्था पनि टेलिकमले गरेको छ ।