काठमाडौं – बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई गाउँलेहरुले फूलमालासहित सम्मान गरेका छन् । दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीहरुलाई फूलमाला लगाएर सम्मान गर्दै बिदाई गरेका हुन् ।
हत्याको अनुसन्धानमा डीआईजी सुवेदी, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, एसएसपी जनकराज पाण्डे, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत खटिएका थिए । दोषी पत्ता लगाउन सफल भएको भन्दै आज बिहान उनीहरुलाई फूलमालासहित सम्मान गरेर बिदाई गरिएको हो ।
गाउँलेहरुले सम्मान गर्दा खुशी लागेको डीआईजी सुवेदीले जानकारी दिएका छन् । उनले भने, ‘प्रहरीको मेहनतले सफलता पाएको छ । प्रहरीको अनुसन्धानमा गाउँलेहरुको सहयोग निकै महत्वपूर्ण थियो । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’
भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति उनकै गाउँका दिनेश भट्टलाई पक्राउ गरेको छ । मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ । घटनाबारे थप जानकारी पत्रकार सम्मेलनमा दिइने डीआईजी सुवेदीले बताएका छन् ।