काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षले संसद विघटनको विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत बुधबारबाट देशैभर विरोध प्रदर्शन र सभा गर्ने भएको छ । चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै ठाउँमा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएका छन् ।
संघर्ष समितिका सचिव डा. विजय पौडेलले प्रदर्शन र सभाको नेतृत्व जिल्लास्तरीय नेताहरुले गर्ने पनि बताएका छन् । प्रचण्ड माधव पक्षले गत आइतबार चौथो चरणको आन्दोलन घोषणा गर्दै फागुन ५ गते देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा गर्ने जनाएको थियो ।
यसैबीच काठमाडौंमा भने विरोध प्रर्दशन फरक ढङ्गले हुने भएको छ । त्यसका लागि फागुन ६ गते बिहीबार प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय भएको नेता हिमाल शर्माले जानकारी दिएका छन् ।