Protest-image
सैन्य कू को विरोधमा प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि म्यानमारमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले राधानी नेदिपअमा प्रदर्शनमा सहभागी भएकाहरुमाथि रबरको गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । प्रदर्शनमा सेनाले प्रतिबन्ध लगाएको भए पनि हजारौँ नागरिक त्यसको अवज्ञा गरि प्रदर्शनमा सहभागी भएका छन् ।प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोलीसँगै पानीको फोहोरा तथा अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीको कुटाइबाट प्रदर्शनमा सहभागी भएकी एक महिला गम्भीर घाइते भएकी छन् । गएको हप्ता निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले समूहमा भेला हुन प्रतिबन्ध लगाएको छ, भने रातको समयमा कर्फ्यू समेत लगाएको छ । निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिने (सैन्य कू) नेताले भने आफ्नो कार्यको बचाउको प्रयास गर्दै आएका छन् ।