Prachanda-protest
काठमाडौं – प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद विघटन गरेसँगै विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ । आन्दोलनरत नेकपाको (प्रचण्ड–नेपाल ) खेमाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हो । सो सभालाई अध्यक्षद्वयसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । विरोधसभा अघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जानकारी दिएको छ ।हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् । यस्तै विरोधसभाअघिको प्रमुख जुलुस सुनधाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय प्रचण्ड र नेपालले गर्ने समेत जानकारी दिइएको छ । २ लाख भन्दा बढि नागरिक सभामा सहभागी गराउने दाबी गरेको नेकपाले त्यसका लागि विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौं ल्याएको छ । नेकपाको प्रचण्ड–नेपाल खेमाले आज ‘जनप्रदर्शन’ निर्णायक हुने समेत दाबी गरेको छ ।