काठमाडौं – प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । आज कान्तिपथस्थित आयोगको कार्यालयमै पुगेर प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिएका हुन् । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियामा निर्वाचनको तयारीका लागि हालसम्म भएका कार्यप्रगतिबारे जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । उनका अनुसार आयोगले गरेको तयारीप्रति ओलीले सन्तोष व्यक्त गरेका छन् । आज आयोगका पदाधिकारीसँग नेकपाको विवाद सम्बन्धमा कुनै छलफल नभएको थापाले जानकारी दिएका छन् ।सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘आज आयोगमा छलफल गर्न प्रधानमन्त्री ओली आउनुभएको हो पार्टी आएको हैन । मुल विषय नेकपा विवाद थिएन ।’ तर प्रमुख निर्वाचन आयुक्त थपलियाले नेकपा विवादबारे यसअघि आयोगले दिएको निर्णय र त्यसपछि माघ २० गते आधिकारिकताका लागि प्राप्त भएको अर्काे निवेदनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थापाले जानकारी दिएका छन् ।छलफलमा ओलीले निर्वाचनको विकल्प नभएकोले तयारीको कामलाई निरन्तर अगाडि बढाउन आयोगलाई सुझाव दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी कस्तो छ भनेर सोधेको र त्यसको जवाफमा प्रमुख निर्वाचन आयुक्तले भइरहेको तयारीबारे जानकारी गराएको बताएका छन् । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको समेत उनले बताएका छन् ।