काठमाडौं – सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । संसद विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । हिजो बसेको मन्त्रिपरिषदको बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

ती मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरिदिएकी थिइन् । त्यसविरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ ।