Janakpurdham-train-image

सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जानकारी दिएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जानकारी दिएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन् ।

कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उनले भने, “त्यसमा रेल चालक, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।” भारतसँगको सम्झौताको विषय आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ । आज नै प्रमाणित सञ्चालन कार्यप्रणाली (स्टाण्डर्ड ओपरेटिङ प्रोसिडर) पनि बैठकमा छलफल हुनेछ । भारतसँग उताबाट ल्याइने जनशक्ति र आवश्यक सामग्री ल्याउने विषयमा समेत छलफल हुने उनले बताएका छन् ।

कम्पनीसँग खरीद गर्ने सामग्री र जनशक्तिका विषमा कुराकानी भइसकेको छ । उताबाट टोलीले स्थलगत भ्रमणसमेत गरेको थियो । उनले भने, “यताबाट पत्र दिनासाथ उताको टोली तयारी अवस्थामा छ ।” नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाका लागि सशस्त्र प्रहरी बस्ने तयारी रहेको छ । उनले भने, “प्रशासनसँग कुराकानी भइसकेको छ ।” रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जानकारी दिएकोे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ । उनी भौतिकरुपमा वा भर्चुअल उपस्थित हुने भन्ने टुङ्गो नभएको भट्टराईले बताए । उनले भने, “दुवै देशका प्रधानमन्त्रीको समय मिलेपछि मात्रै उद्घाटनको मिति तय हुनेछ ।”

भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । कम्प्युटर खरीद सकेर उता लगेर राख्न तयारी अवस्थामा छ । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताउनुभयो । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उनले भने, “डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ ।”

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना सरकारले लिएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २ सय देखि १ हजार ३ सय जनासम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।