buddha-airline-image

काठमाडौं —नयाँ जहाजको आगमनसँगै बुद्ध एअरले आक्रामक बजार विस्तार गर्न लागेको छ । काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुद्ध एअरसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज हुनेछन् । कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रामक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ ।

यसअनुसार बुद्ध एअरले दैनिक सय उडान तथा अवतरण गर्नेगरी तालिकासमेत बनाइसकेको छ । ‘बुद्ध एअरका मार्केटिङ ता सेल्स विभाग प्रमुख रुपेश जोशीले अब दैनिक १ सय भन्दा बढी उडान भर्ने बताएका छन् । ‘समय यात्रुको ,उडान हाम्रो’ भन्ने नाराका साथ नयाँ उडान तालिका बनाएको जोशी बताउँछन् । हाललाई पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने जोशीले बताएका छन् । योसँगै बुद्धले अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने जनाएको छ ।

यसबाट यात्रुले आफुखुशी अनुकुल समयमा हवाई यात्रा गर्न सक्नेछन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन् । थपिएको जहाजबाट हामीलाई नियमित विमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताएका हुन् । बुध्द एअरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट पनि गरिरहेको छ । भारतको वनारस उडान दुवै देशको स्वीकृत पछि पुनः थाल्ने बुद्धले जनाएको छ ।