वीरगन्ज– नेपाली कांग्रेसका तर्फबाट प्रदेश २ का प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले प्रदेश २ का मुख्यमन्त्री देखि मन्त्रीसम्म जनताको हितमा काम गर्नेको सट्टा आफ्ना लागि गाडी किन्न व्यस्त रहेको आरोप लगाएका छन् । विरगञ्ज २८ बगहीमा भएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तेलीले यस्तो बताएका हुन् । उनले भने, ‘प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु जनताको काम र विकाश गर्नुको सट्टा आफ्ना लागि गाडी किन्नमै व्यस्त छन्,’ उनले भने । उनले प्रदेशका मुख्यमन्त्रीले करोडौँको तीनवटा गाडी चढ्दै आएको बताउँदै मन्त्रीहरुले पनि मुख्यमन्त्री जस्तै दुई–दुई वटा गाडी किनेर प्रयोग गर्दै आएको बताएका छन् ।

प्रदेश सरकारले काम नाममा केही ऐनहरु मात्रै ल्याएको तेलीको भनाइ थियो।संघीय सरकारका कारण प्रदेश सरकारको काम कारबाही प्रभावित हुँदै आएको बताएका छन् । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पनि घुस लेनदेन हुने गरेकोले प्रदेशको शिक्षास्तर निकै दयनीय अवस्थामा रहेको तेलीको दावी छ । उनले जनताको लागि सधैं काम गर्ने पार्टी नेपाली कांग्रेस नै भएकोले आम जनतालाई पार्टीमा आवद्ध हुन आह्वान गरे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केही व्यक्तिहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस वीरगञ्ज २८ बगहिका बुथ सभापति सर्जुग महतोको सभापतित्वमा भएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा पर्साको पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादव, बहुदरमाइ नगरपालिकाका मेयर नितेन्द्र साह, कांग्रेसबाट वीरगनञ्ज महानगरमा निर्वाचित वडाध्यक्ष लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।