बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै ७ नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरेका थिए । यस्तै यही माघ १७ गते नेकपाको पनौती नगर कमिटीको बृहत् भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गराइएको पार्टीका नगर संयोजक सुरेश हुमागाईँले बताएका छन् । उक्त कार्यक्रममा बाँस्कोटाले भने, “नेकपामा प्रवेशको लहर चलेको छ ।”

नेकपाका काभ्रेपलाञ्चोकको इन्चार्जसमेत रहेका बाँस्कोटाका अनुसार नेकपामा पार्टी प्रवेशको कार्यक्रमले अब तीव्रगतिमा निरन्तरता पाउनेछ । यही माघ १० गते विप्लव समूहका केन्द्रीय सदस्य चुडामणि चौलागाईँले नेकपाको जिल्ला भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवाद र राष्ट्रियता’ले जनताको मन जितेको दाबी गर्दै नेकपामा प्रवेश गरेको घोषणा गरे । पार्टी प्रवेशका बनेपा र धुलिखेल नगरका दुई कार्यक्रममा १ सय ४५ चन्द समूहका नेता कार्यकर्तालाई बाँस्कोटाले स्वागत गरेका थिए । धुलिखेलमा ७५ र बनेपामा ७० चन्द समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।