Politician-meeting

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले हिजो घोषणा गरेको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनावद्ध ढङ्गले आफ्ना केही नेतालाई मार्ने उद्देश्यले आक्रमण गरेको प्रचण्ड–माधव पक्षले आरोप लगाएको छ । आज जनकपुरधाममा सो पार्टीको धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले केही नेताको हत्या गर्ने उद्देश्यले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी प्रहार गरेको आरोप समेत लगाएका छन् ।

‘हामी शान्तिपूर्ण ढङ्गले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासी जनकपुरधामको शिव चोकमा आएर सुनुयोजित ढङ्गले स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने योजना अनुसार प्रहरीले फायरिङ गरेको हो,’ उनले बताएका छन् । उनले भने, ‘प्रहरीले योजनावद्ध ढङ्गले प्रदर्शनकारीमाथि ढुङ्गामुढा सहित गोली, लाठी बर्साउनु निन्दनीय हो, पार्टीका शीर्ष नेताहरुलाई मार्ने उद्देश्यले प्रहरीले आतङ्क मच्चाएकाले यसको अनुसन्धानको समेत माग गर्दछु ।’

उनले संघीयता, धर्मनिरपेक्षता, समावेशिता सहितका प्राप्त उपलब्धिहरुलाई प्रधानमन्त्री ओलीले समाप्त पार्नका लागि असंवैधानिक कदम चालेपछि विरोधमा बाध्यात्मकरुपमा मुलुकमा बन्दको घोषणा गर्नुपरेको समेत स्पष्ट पारेका छन् । त्यस्तै केन्द्रीय सदस्य श्रवण यादव बरबरियाले प्रहरीले न्यून सङ्ख्यामा रहेका प्रदर्शनकारीमाथि बल प्रयोग गरी योजनावद्ध ढङ्गले नेता रामचन्द्र र नेता मातृका यादवमाथि हमला गरेको आरोप लगाए । नेकपा धनुषाका संयोजक सुधिर साह र सहसंयोजक दिपक यादवले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै शान्तिपूर्णरुपमा गरिएको प्रदर्शनमा भएको दमन र आक्रमणमा सङ्लग्नमाथि कारवाहीको माग गरेका छन् ।