ezgif-7-ed6a5337a4f3.jpg

काठमाडौं — सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरेपछि यी दुई कम्पनीहरुको सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिएका छन् । सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रुपमा बुझाउनु पर्ने वित्तीय विवरण समेत बुझाउन सकेको छैन । लामो समय साधारणसभा गर्न नसकेका यी दुबै कम्पनीहरु नेपाल सरकारको लगानी रहेका कम्पनीहरु हुन् । यसमा पनि राष्ट्रिय बिमा कम्पनी वित्तीय बद्नाम कम्पनी नै हो । लामो समयदेखि यस कम्पनीले साधारण सभा समेत गराउन सकेको छैन ।

हरेक वर्ष साधारण सभा गरेर लेखापरीक्षण प्रतिवेदन पारित गराउनु पर्नेमा यो कम्पनीले विगत ८ वर्षदेखि साधारणसभा नै गराउन सकेको छैन । यद्यपि, यसको सेयर मूल्य आज आइतबारसम्म मात्रै १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । विशाल बजारको भने सेयर मूल्य २ हजार ८ सय ८० रुपैयाँ रहेको छ । राष्ट्रिय बिमा कम्पनीको सीईओ डिल्लीराज अर्याल हुन् । उनी अर्थमन्त्रालयमा कार्यरत कर्मचारी भए पनि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको पावर लगाएर कम्पनीको सीईओमा नियुक्त भएका थिए । राजनीतिक पहुँच दह्रो भएका उनले नियामक निकाय बिमा समितिको निर्देशन समेत अटेर गर्दै आएका छन् ।