UML-leader-Jhalanath-Khanal.jpg

काठमाडौं – कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् । आज प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौंमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको भन्दै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उनको भनाइ रहेको छ । नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने उनको भनाइ छ । नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताइन् । ओली प्रतिक्रियावादीको हतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको समेत बताइन् ।

विघटित प्रतिनिधी सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान विपरित जाने कदमका विरुद्ध लागिरहने बताइन् । पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी धर्ना आज समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भएपनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकोले आजनै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जानकारी दिएको छ ।

यसैबीच वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुनःस्थापना गर्नुपर्ने उनको भनाइ रहेको छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले सरकार पाकेको फलझै झर्ने उनको भनाइ छ ।