11111111111111111_jfs9zv3VgS.jpg

बुटवल- निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु भएको छ । भेलामा सिएमए, अनमी, ल्याब असिस्टेन्टलगायतका विषय अध्ययन हुने शिक्षालयका प्रतिनिधिहरु सहभागी रहेको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष बसन्तराज खनालले बताएका छन् । सो भेलाको उद्घाटन गर्दै सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले केही समयदेखि निजी प्राविधिक शिक्षालयमा देखिएका समस्या छिट्टै समाधान हुने बताएका छन् ।

यस्ता शिक्षालयका पीडा र सर्वसाधारणले पाउने प्राविधिक शिक्षाका विषयमा स्तरवृद्धिको काम कोभिडका कारण ढिलाई भएकाले अब तत्काल सुधार हुने उनले बताए । सरकारले चिकित्सा शिक्षा ऐन ल्याएपछि देशभरका यस्ता ४ सय विद्यालयले प्राविधिक शिक्षा संचालन गर्न नपाएको अवस्थामा उनले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेशबाट कुल २९ वटा यस्ता शिक्षालय संगठित भएको महासंघका केन्द्रीय सचिव भुवन जोशीले जानकारी दिए ।

देशभरका यस्ता प्राविधिक शिक्षालयमा करिब १० अरब लगानी भएको र वार्षिक ८ करोड कर बुझाइरहेको महासंघका सचिव जोशीले बताए । कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले शिक्षालय संचालनका कानुनी समस्या हटाएर छिटो चलाउने वातावरण बनाउन माग गरे । कार्यक्रममा शिक्षालयका संस्थापक अध्यक्ष दुर्गाप्रसाद उप्रेती, पूर्वअध्यक्ष शैलेन्द्र मोहन झालगायतले सरकारी नीतिका कारण अरबौंको लगानीमा रहेका शिक्षालय अस्तव्यस्त बनेको गुनासो गरेका थिए ।