prachanda-1.jpg

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् । सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने आफूहरुसँग संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको प्रचण्डले बताए । शनिबार कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत आफूहरुसँग रहेको बताएका हुन् ।

आफूपक्षीय सहित काँग्रेस र जसपाका गरी दुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको भन्दै प्रचण्डले ओलीको सनकको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन् । ओलीको कदमविरुद्ध सभामुखले बैठक बोलाउने र ओलीले राष्ट्रघात गरेको ठहर गर्दै प्रधानमन्त्रीबाट हटाउँदै उनलाई कारबाही गर्ने अधिकार संसदले राख्ने उनको भनाइ थियो । प्रचण्डले सर्वोच्च अदालतले मुद्दाको सही फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन् ।

ओलीले संविधानमाथि कुल्चिनु भनेको जनताको सार्वभौम अधिकारमाथि कुल्चिनु पनि हो भन्दै प्रचण्डले उनी तानाशाहको उदाहरण भएको टिप्पणी गरेका छन् । तर उनलाई प्रतिगमनको यात्रालाई परास्त गरेरै छाड्ने प्रच्ण्डले उद्घोष गरे । ओलीले सेटिङमा चालेको कदमलाई जनताको सेटिङले भत्काउँदै त्यसपछि विकास र समृद्धिका नयाँ युगतिर लागिने प्रचण्डले बताएका छन् ।