Corona-Vaccine-bir-hospital-Nepal-6.jpg

काठमाडौँ – कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफै हराएर जाने गरेको छ । खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफै निको भएको छ”, उनले भने, “खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा निको त कसैलाई एक÷दुई दिनमा निको हुन्छन् ।”

उनले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नआएको बताएका छन् । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोपपश्चात् अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताएका छन् । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या देखिएको बताए ।

उनले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको जानकारी दिएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले खोप लगाइसकेका छन् । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबार देखि देशभरी नै दिइन थालिएको छ ।