144936166_773824446881421_5832584442697711558_n_O9lHWSIgTG.jpg

काठमाडौं —सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् । आफूनिकट सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रचण्ड—नेपालको स्वागतमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरु धनगढी विमानस्थल पुगेका थिए । उनले शुक्रबार नेपाललाई र शनिबार बिहान प्रचण्डलाई धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । अध्यक्षद्वयको स्वागतमा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेश इन्चार्ज भीम रावललगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

२४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आमसभालाई सम्बोधन गर्न धनगढी जाँदा उनको स्वागतमा प्रदेश सरकारको शून्य सहभागिता थियो । मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरी कोही पनि ओलीको स्वागतमा धनगढी विमानस्थल गएका थिएनन् । प्रदेश प्रमुख शर्मिला पन्तबाहेक मुख्यमन्त्री र मन्त्रीहरूले ओलीको स्वागत गरेका थिएनन् । तर संघीय चार मन्त्री वाणिज्य अथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी ओलीको स्वागतका लागि धनगढी विमानस्थल पुगेका थिए ।

प्रदेश सरकार ओली पक्ष विहीन छ । पछिल्लो समय ओली पक्ष निकट मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिलामन्त्री झपट बोहोराले राजीनामा दिएका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै पनि जानकारी नदिइएकोले प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल नगइएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको थियो । नेकपामा विभाजन आएपछि संघीय सरकारका उद्योगमन्त्री लेखराज भट्टको स्वागतमा पनि मुख्यमन्त्री भट्ट गएका थिएनन् । मन्त्री भट्टले आफ्नो स्वागतमा नआएर मुख्यमन्त्रीले राजनीतिक संस्कार बिर्सेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओली गुटको सभालाई सम्बोधन गर्न यसअघि धनगढी आएका कारण स्वागतमा आफूहरु नगएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । तर आज भने पार्टीको कार्यक्रममा लागि अध्यक्षद्वय आएकाले स्वागत गरिएको र आफू पनि कार्यक्रममा सामेल हुने जानकारी दिए ।