sports_FvP1bx1EzU.jpg

पोखरा — मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत १७ देखि २८ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । कोरोना सङ्क्रमणका कारण खेल गतिविधि ठप्प भएको लामो समयपछि पोखरामा १९ औं सस्करणको आहा रारा गोल्ड कपको आयोजना गरिने भएको हो । खेलकुदको विकासमा सहाकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित आगामी चैत्रमा फुटबल प्रतियोगिताको आयोजना गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिएका छन् ।

प्रतियोगितामा नेपाली र विभिन्न देशका क्लबहरुका तर्फबाट १२ टिमको सहभागिता रहने क्लवका अध्यक्ष थापाले बताए । ‘हामी कोभिड १९ को विषम परिस्थितीका बीचमा प्रतियोगिताको आयोजना गरेका छौं, यसलाई हामीले सोचे अनुरुप अगाडि बढाउनु पर्दछ’ उनले भने, ‘आशा छ हामीले सोचे अनुरुप विदेशीसहित स्वदेशी खेलाडी र ए डिभिजनका क्लव तथा मोफसलका गरी १२ टिमको सहभागिता गराउने छौं ।’ सहाराले प्रतियोगिताको तयारी थालेपनि खेलाडीलाई प्रदान गर्ने पुरस्कार राशी, दर्शक संख्या र टिकट दर भने कोभिड १९ को परिस्थितीलाई आँकलन गरेर मात्रै जानकारी गराउने अध्यक्ष थापाले बताए । ‘अहिले हामी असहज परिस्थितिमा छौं, जनसहभागिता र त्यसवेलाको अवस्थालाई हेरेर पुस्कार राशिको सार्वजनिक गर्ने छौ उनले भने ।’

अध्यक्ष थापाले १९ औं सस्करणका लागि विदेशी क्लव निमन्त्रणाका लागि प्रयास भइरहेको जानकारी दिंदै प्रतियोगितालाई रोचक बनाउने तर्फ क्लवले सोचिरहेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले १९ औं आहा रारा गोल्डकपको सफलताको शुभकामना व्यक्त गर्दै पोखरा रंगशालामा २० हजार दर्शक संख्या पु¥याउने गरी तयारी गरिने बताए । उनले पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सहारा युकेका महासचिब धनु थकालीले प्रतियोगिता सफल बनाउन सहारा युकेको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै वितरण गरिने पदकहरुका लागि सहयोग गर्ने बताए ।

प्रतियोगिता सञ्चालन गर्न अनुमानित अर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ रहने बताइएको छ । प्रतियोगिता सञ्चालनबाट १ करोड ३० लाख १ हजार रुपैयाँ अनुमानित आम्दानी हुने सहारा क्लबले अपेक्षा गरेको छ । सहारा क्लबले विगत २० वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत हुने रकम आयोजक सहरा क्लबबाट सञ्चालित सहरा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिँदै आएको छ । हाल एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित रहेका छन् ।