DSC_3218.jpg

काठमाडौं — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अदालतप्रति जनताको भरोसा जुटाउने अवसर सदुपयोग गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंको शान्ति वाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले भने, ‘अदालतलाई आफ्ना क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको छ ।’आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको छ, अदालतले अवसरको सदुपयोग गरोस’ उनले अघि भने ।

दोस्रो संविधानसभामा मस्यौदा समितिका सभापतिसमेत रहेका कांग्रेस नेता सिटौलाले प्रधानमन्त्रीलाई जतिबेला मन लाग्छ, त्यतिबेला संसद भंग गर्न नपाओस् भनेर नै संविधानको रचना गर्दा धारा ७६ को व्यवस्था गरेको स्मरण गरे । उपधारा ५ बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत लिन सकेन वा अर्को प्रधानमन्त्री नियुक्त हुन सकेन भने प्रतिनिधिसभा विघटन हुनसक्छ भन्ने उपधारा ७ को आशयलाई अपव्याख्या गर्ने प्रयास भइरहेको भन्दै उनले सचेत गराएका छन् ।

नेता सिटौलाले प्रधानमन्त्री ओलीलाई आफ्नो गल्ती स्वीकार गर्न समेत आग्रह गरेका छन् । ‘सार्वजनिक मञ्चबाट भने हुन्छ, हतार गरियो, गल्ती भएछ । प्रतिनिधिसभा व्यूँताइदिनुस’ उनले भने, ‘मलाई लाग्छ प्रधानमन्त्रीले गल्ती स्वीकार्लान् । स्वीकारेनन् भने अदालतले स्वीकार गर्न बाध्य बनाउँछ ।’