nekapa_sQK5vZBtyB.jpg

विराटनगर — नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो । जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिने प्रचण्डको भनाई छ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताए ।

केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन, अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे । प्रचण्डले नेकपा एकता घोषणा भएको तीन वर्ष नवित्दै आफैंले बनाएका प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्नुपरेको र त्यो नेपाली जनताको हितका लागि भएको पनि बताए । प्रचण्डले दुई पार्टी एकता गरेर आफुहरु समाजवादको आधार निर्माण गर्ने महान अभियानमा लागेपनि केपी ओली प्रतिगमनको गोटी बनेर संसद विघटन गर्नतिर लागेको बताए ।

उनले गिरिजाप्रसाद कोइराला निरङ्कुशता विरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै उहाँ महानायक बन्न सफल भएको भन्दै अब निरङ्कुशताका अगाडि आफु पनि अन्तिमसम्म लड्ने बताएका छन् । ओली पक्षले अहिले विभिन्न भ्रम फैलाएको र दिउँसै रात पार्न खोजे पनि त्यसमा विश्वास नगर्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ‘केपीका मान्छे सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङलाई जनताले भत्काइदिन्छन् र जनताले सेटिङ गर्छन, अदालतलाई सम्मान गर्ने सबैभन्दा ठुलो अदालत जनता नै भएको प्रचण्डले बताएका छन् । अब आफ्नो गुमाउनु केही नरहेको भन्दै प्रचण्डले भने, ‘मैले त भने नि अब गुमाउन केही पनि बाँकी छैन । अबको वाँकी जीवन नेपाली जनतालाई हो, नेपाली युवाहरुलाई हो । सम्मृद्धि, रोजगारी र सम्मानका लागि हो ।’