aama-poster.jpeg

काठमाडौं – पौष १० गतेबाट हल खुलेपछि प्रदर्शकहरुले चलचित्र ‘आमा’ पुनः रिलिज गरेका थिए । गतबर्षको फागुन ९ गतेबाट रिलिज भएको यो चलचित्र कोरोना भाइरसको मारमा पनि पर्यो । जसलेगर्दा, चलचित्र हलमा रिलिज हुँदाहुँदै कोरोनाका कारण हलहरु बन्द भएपछि यसको असर चलचित्र ‘आमा’लाई परेको थियो । त्यसैले प्रदर्शकहरुले हल खुलेपछि यो चलचित्रलाई पुनः रिलिज गरेका थिए । चलचित्र हलमा रिलिज भएको ११ महिनापछि यसलाई युटुबमा पनि रिलिज गरिएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई दर्शक र समिक्षकले निकै मन पराएका थिए । चलचित्रको विदेश प्रदर्शन पनि बाँकी नै थियो । तर, यो चलचित्र पाइरेसीको मारमा परेपछि युटुबमा रिलिज गरिएको हो । निर्देशक खनालले भने–‘विदेश प्रदर्शन त बाँकी नै थियो । तर, अब विदेशमा चलचित्र रिलिज कहिले हुन्छ भन्ने नै टुङ्गो छैन । फेरि, चलचित्र पाइरेसीको मारमा पनि पर्यो । यसैले पनि युटुबमा रिलिज गर्न हतार गरिएको हो ।’ यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो टिमले चलचित्र ‘चिसो मान्छे’ बनाउने तयारी पनि थालेको छ ।