Pradeep_Paudel_Congress.jpg

काठमाडौं —नेपाली काँग्रेसका नेता प्रदीप पौड्लले नेपालमा गणतन्त्र नभई विद्यातन्त्र आएको बताएका छन् । काँग्रेसको काठमाडौं क्षेत्र नम्बर ६ समितिले रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजना गरेको विरोधसभामा नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र नभइ विद्यातन्त्र लागू गरेको बताएका छन् । केपी ओली गणतन्त्रवादी नेता होइनन्, उनी गणतन्त्रविरोधी नेता हुन् । यतिबेला नेपालमा गणतन्त्र होइन विद्यातन्त्र आएको छ’ पौडेलले भने । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली संविधानभन्दा माथि बस्न खोजेको आरोप लगाए । उनले ओली राजतन्त्र ल्याउन अग्रसर भइरहेको आरोप लगाएका छन् ।

पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको भनाई थियो । ‘पार्टी भित्रको झगडाको रिस प्रतिनिधिसभा माथि पोखियो । कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’ पौडेलको प्रश्न छ । नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली नै भएको उनको भनाइ थियो । पौडेलले प्रधानमन्त्री केपी ओलीले चुनाव गर्ने ल्याकत नराख्ने बताए। ‘केपी ओलीले काँग्रेसलाई जिताउन चुनाव गर्नुहुन्न’ उनले भने ।

वैशाखमा चुनाव भयो भने पनि केपी ओलीको जमानत बाँकी नरहने पौडेलको भनाइ छ । केपी ओली कामचलाउ प्रधानमन्त्री भएको भन्दै उनले कामचलाउ प्रधानमन्त्रीले संसारमा मन्त्रिपरिषद् विस्तार नगर्ने बताएका हुन् । ‘लाज पनि लजाइसक्यो’ उनले भने, ‘संसद् विघटन असंवैधानिक भन्नु भनेको त्यो पुनःस्थापना हुनुपर्छ भनेको हो ।