Math 1.jpg

काठमाडौं – कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने भएका छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा हिजो बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो ।

परिषद्को निर्णय अनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये कुनै एउटा विषय रोज्न पाउने शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिएका छन् । उनी भन्छन्, ‘गणित वा सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा अनिवार्य हुने निर्णय भएको छ । ’यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएको थियो ।

गणित बिषयलाई अनिवार्य बनाउन लविङ गर्दै आएको नेपाल गणित समाजले सरकारको यो निर्णयको स्वागत गरेको छ । समाजका अध्यक्ष प्रा.डा. चेतराज भट्ट भन्छन्, ‘यो निर्णयका लागि नेपाल सरकार र यो अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’