c33fd15f0e4480d963714e18e7189611.jpg

एजेन्सी – भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म १ करोड ७ लाख २० हजारभन्दा बढी पुगेको छ । गत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८ सय ५५ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेपछि सङ्क्रमितको कुल सङ्ख्या १ करोड ७ लाख २० हजार ४८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणका कारण १ सय ६३ जनाको ज्यान गएको थियो । यो सङ्ख्यासँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ५४ हजार १० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा १ करोड तीन लाख ९४ हजारभन्दा धेरै व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा १ लाख ७१ हजार ६ सय ८६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राजधानी दिल्लीमा बिहीबार १ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता कोरोना भाइरस सङ्क्रमणका कारण दिल्लीमा १० हजार ८ सय ३५ जनाको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ५० लाख ८१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र ७ लाख ४२ हजार ३ सय ६ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।