arrest-11.width-1024.jpg

काठमाडौं – सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका अग्रवाललाई आज सर्लाही ल्याइएको प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताएका छन् । उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला ल्याइएको बताएका छन् । उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई काठमाडौंमा पक्राउ गरिएको थियो । अग्रवालविरुद्ध रु १७ करोड माग दाबी गर्दै उखु उत्पादक किसानले जाहेरी दिएका थिए ।

सोमध्ये उनले रु १२ करोड ६३ लाख ७२ हजार १ सय ९८ तिरिसकेको बताइएको छ । अग्रवाल पक्राउ परेको खबर पाएपछि थप किसानको पनि जाहेरी आउनसक्छ, प्रहरी उपरीक्षक राठौरले भने– काठमाडौंमा पक्राउ परेका अग्रवाललाई सर्लाही ल्याइएको छ । उखुको भुक्तानी नपाएपछि किसानले काठमाडौंसम्म पुगेर आन्दोलनसमेत गरेका थिए । यसपछि गृहमन्त्रालयले चिनी उद्योगका सञ्चालकलाई पक्राउ गरेर भए पनि किसानको रकम प्रदान गर्ने प्रक्रिया शुरुआत भएको थियो ।