काठमाडौँ – देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै शुक्रबार देशभर शहीद दिवस मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । लैनचौरस्थित शहीद पार्क पुगेर प्रधानमन्त्री ओलीले शहीदका शालिकमा माल्यार्पण गरेर श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । काठमाडौँ महानगरपालिकाले शहीद सप्ताहको अन्तिम दिन शान्तिवाटिकामा भेला भएर प्रभातफेरीसहित लैनचौरस्थित शहीद पार्कमा श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो । सभामा प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरु, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधिहरुले पनि शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइन्छ । विक्रम संवत १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी नागरिकलाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुको खरीको रूखमा झुन्ड्याइएको थियो ।
त्यहीवर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीरको सम्झनामा प्रत्येक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको छ ।