cricket_bat_and_ball.jpg

काठमाडौं – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीलाई फाइनलमा पु¥याउन राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले । आर्मीले बागमतीलाई ९४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाउँदा राजेशले सर्वाधिक ६५ रन बनाएका थिए । १ सय ६ रन हुँदा ६ विकेट गुमाएको अवस्थामा राजेशले विक्रम सोबसँग मिलेर सातौं विकेटका लागि ९२ रनको साझेदरी गरे । राजेश नै खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । राष्ट्रिय टिममा परिसकेर पनि पछिल्लो समय टिम बाहिर रहेका राजेशले आर्मीबाट प्रधानमन्त्री कप खेल्दै आएका छन् ।

आर्मीलाई आवश्यक परेको बेला राजेशले शानदार इनिङ्स खेले, र उनले ९१ बल खेल्दा ४ चौका र २ छक्का प्रहार गरेका छन् । स्लो ब्याटिङ गर्ने खेलाडीको रुपमा चिनिए पनि यस संस्करणमा राजेशले छिटो ब्याटिङ समेत गरिरहेका छन् । आर्मीलाई फाइनलमा पु¥याउँदै म्यान अफ दि म्याच घोषित भएपछि राजेशले टिमलाई जिताउन पाउँदा खुशी व्यक्त गरेका छन् । आर्मीका कप्तान विनोद भण्डारीले पनि राजेशको इनिङ्सको प्रशंसा गरेका छन् । ‘राजेश र विक्रम सोबको इनिङ्सलाई उनले आर्मीकै सबैभन्दा राम्रो इनिङ्स माने । उनले भने, ‘पुलामी र सोबले राम्रो खेले । मेरो विचारमा यो एकदमै राम्रो इनिङ्स होला आर्मीले सेमिफाइनलमा खेलेको । पुलामीले सेमिफाइनलमा हाम्रो लागि जहिल्यै राम्रो खेलिराछ । अगाडि बढाइराछ । उसले नकआउटमा राम्रो खेलिराछ ।’

राजेशले यस सिजन प्रधानमन्त्री कपमा राम्रोे खेलिरहेका छन् । उनले अहिलेसम्म खेलेका सबै खेलमा कम्तीमा दोहोरो अङ्कमा रन जोडेका छन् । दुई खेलमा बलिङसमेत गरेका राजेशले गण्डकीविरुद्ध पहिलो खेलमै ५ विकेट लिएका थिए । पहिलो खेलमा गण्डकीविरुद्ध ३८ रन बनाउनुका साथै ५ विकेट लिएका उनले दोस्रो खेलमा कर्णालीविरुद्ध १६ रन बनाए । यस्तै तेस्रो खेलमा प्रदेश १ विरुद्ध २ ओभर बलिङ गर्दा १ विकेट लिएका उनले नटआउट ३४ रन बनाए । समूहको अन्तिम खेलमा एपीएफविरुद्ध ३३ रन बनाएका थिए ।

५ खेलमा १ अर्धशतकसहित १ सय ७६ रन बनाएका राजेश सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा रहेका छन् । बागमतीका पृथु बास्कोटाले सर्वाधिक २ सय १५ रन बनाएका छन् । फाइनल खेल्न बाँकी रहेकाले राजेशसामु सर्वाधिक रन बनाउने सूचीमा अगाडि पुग्ने अवसर रहेको छ । सेमिफाइनल बागमतीविरुद्ध खेल्दा टप अर्डर आउट हुँदा प्रेसर भएकाले विकेट बचाएर खेलेको उनले बताएका छन् । राजेशले यसअघिका खेलहरुमा पनि राम्रो सुरुवात गरे पनि फिनिस गर्न नसकेको तर बागमतीविरुद्ध राम्रो भएको बताए । ‘यसअघि अरु गेममा पनि स्टार्ट पाइराथेँ फिनिस भइराको थिएन । त्यही भएर आज सोचिराथेँ कि यो स्टेन छ ठाउँ राम्रो छ भनेर खेलेँ,’ उनले भने ।

उनले राष्ट्रिय टिमबाट बाहिर हुँदा आफूले मेहनत गर्न नछाडेको र त्यसको फल पक्कै पाउने समेत उनले बताए । ‘टिम बाहिर हुँदा एकेडेमीकमा ट्रेनिङ गर्छु । लकडाउनभन्दा अघिदेखि यो एक वर्ष मैले मेहनत गरेको छु । (सोमपाल कामी) र म सँगै बस्छौं नजिकै । उसले बलिङमा, मैले ब्याटिङमा मेहनत गरेका थियौँ,’ राजेशले कन्फिडेन्टका साथ भने, ‘मेहनत गरेपछि नतिजा आउने रहेछ आफ्नो फेभरमा । भगवानले पनि साथ दिएका छन् ।यस्तै राष्ट्रिय टिममा कमब्याकबारे के सोच्नुभएको छ भन्ने प्रश्नमा राजेशले टिममा पर्ने नपर्ने सेलेक्टरको हातमा रहेको बताए । ‘राष्ट्रिय टिमको कमब्याक आफ्नो हातमा हुँदैन । क्रिकेट मेरो प्यासन हो । म प्यासनको लागि खेल्छु । कमब्याक सेलेक्टरको हातमा हो के गर्छ के गर्दैन थाहा हुँदैन,’ उनले भने ।

आर्मीले अब शनिबार एपीएफसँग फाइनल खेल्दैछ । राजेशले त्यसमा पनि यही लयलाई कायम राख्ने प्रयास गर्ने बताए । ‘अब यही लयलाई निरन्तरता दिने हो । अर्को खेल फाइनल बाँकी छ । आजको खेल आजै सक्यो । एपीएफसँग खेल छ । त्यसमा पनि सुरुदेखि नै यस्तै दिने कोसिस गर्छु,’ उनले भने । आर्मी लगातार चौथो पटक फाइनल पुग्ने एक मात्र टोली हो । यसअघि एकपटक एपीएफसँग फाइनलमा पराजित भएको थियो । पहिलो संस्करणमा नेपाल पुलिसँग उपाधि बाँडेको आर्मी एकल रुपमा च्याम्पियन हुने लक्ष्यमा छ । ‘हामी चौथो पटक फाइनल खेल्दैछौँ । दुई पटक हा¥यौँ । त्यो हारको श्रृंखला ब्रेक गर्ने सोचेको छु ।


Rajesh-Pulami.jpg