Kuleshwor-falful.jpg

काठमाडौं —नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस भन्ने आफूले चाहेको बताएका छन् । शुक्रबार कुलेश्वर फलफुल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरु बजारमा नदेखिउन भन्ने आफूले चाहेको बताएका छन् । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस भन्ने आफूले चाहेको उनको भनाई छ । ‘म नोटमा हस्ताक्षर गर्ने व्यक्ति हुँ, तर मेरो कार्यकालमा धेरै नोट छापियोस भन्ने चाहान्न’ गभर्नर अधिकारीले भने, ‘डिजिटल कारोबार नै सुरक्षित हो, राज्यको खर्च पनि बचाउछ यसकारण नगद होइन डिजिटल कारोबार नै रोज्न मेरो अनुरोध पनि छ ।’

सुरक्षाको दृष्टिकोणले पनि डिजिटल कारोबार नै उत्तम हुने भन्दै उनले अब सबै नागरिकले नगद रहित कारोबारलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । उनले डिजिटल कारोबार गर्दा राज्यको अर्बौं रकम बचत हुने समेत बताएका छन् । कुलेश्वरमा नविल बैंकको अगुवाइमा क्यूआर पेमेन्ट शुरुआत भएको हो । नविलका अध्यक्ष उपेन्द्र केशरीले अब डिजिटल कारोबार सबैतिर पुर्याउनु पर्ने बताएका हुन् । नविलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अब यो अभियानलाई व्यापक बनाइने बताएका छन् । उनले अब टोलटोलमा डिजिटल कारोबार हुने बताए ।