Trail-Test-for-Getting-Motorcycle-Driving-License-2015-768x432.jpg

काठमाडौं —यातायात व्यवस्था विभागमा विगत ९ महिनासम्म बन्द भएको नयाँ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) को वितरण र वर्ग थपको प्रक्रिया गत पुस १४ गतेबाट खुलेको थियो । सुरुमा दैनिक रुपमा कार्यालयको क्षमता अनुसार कोटा तोकेर अनलाइन प्रणालीमा फारम भर्ने व्यवस्था गरिएको थियो तर, एकैपटक ठूलो संख्यामा लाइसेन्स लिन चाहनेहरु अनलाइन फारम भर्न बसेपछि प्रणालीले नै थेगेन । अहिलेकै गतिमा लाइसेन्सको अनलाइन फारम भर्नेहरु बढ्दै गए भने तत्कालै फारम भर्दा परीक्षाकै लागि करिब ६ महिनाभन्दा बढी कुर्नुपर्ने दिन टाढा नभएको उनीहरुको भनाइ छ । लाइसेन्स लिन मात्रै हैन, त्यसको प्रक्रिया पूरा गर्न पनि अब नागरिकले लामो समय प्रतिक्षा गर्नुपर्ने देखाएको छ ।

गत शुक्रबारबाट दैनिक रुपमा अनलाइन फारम भर्नुपर्ने व्यवस्था हटाएर भरिएका सबै फारम प्रणालीले राख्ने र सेवाग्राहीले छानेको कार्यालयको दैनिक क्षमता अनुसार प्रणालीले नै स्वतः दैनिक कोटा हिसाब गरेर परीक्षार्थी लाइसेन्स कार्यालयमा पुग्नुपर्ने दिन तय गरेर जानकारी व्यवस्था गरिएको छ । तर, जति पनि फारम स्वीकार्ने व्यवस्था गरेको एक हप्ता नबित्दै धेरैजसो कार्यालयमा करिब ४ देखि ५ महिनाका लागि परीक्षार्थी तय भइसकेका छन् । अर्थात् एक हप्तामै हजारौं व्यक्तिले परीक्षाको फारम भरेपछि लाइसेन्स कार्यालयहरुले आगामी ४ देखि ५ महिनाका लागि को–को परीक्षार्थी हुनेछन् भन्ने जानकारी पाइसके । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसाल अनलाइन प्रणालीले जति पनि फारम स्वीकार्ने र परीक्षार्थी कार्यालयमा प्रक्रिया पूरा गर्न जाने मिति तोक्ने काम प्रणालीबाटै भएपछि हजारौं परीक्षार्थीले फारम भरेको बताउँछन् ।

तत्कालै लाइसेन्स लिन फारम भर्नेले करिब ५ महिनापछि मात्रै परीक्षा दिन पाउने उनको पनि अनुमान छ । काठमाडौंका कार्यालयहरुको तुलनामा मोफसलका कार्यालयमा कम चाप छ । तर, मोफसलका कार्यालयहरुमा पनि करिब ४ महिनासम्मका लागि परीक्षार्थी तय भइसके । परीक्षा लिने क्षमता सीमित हुँदा कार्यालयहरुले दैनिक कोटा तोक्ने गरेका छन् । विभागका अनुसार हप्तामा ४ दिन मात्रै लाइसेन्सको लिखित परीक्षा हुन्छ । देशभर लाइसेन्स वितरण गर्ने १९ वटा कार्यलय छन् । तिनले दिनमा अधिकतम् ५३ सय जनालाई मात्रै परीक्षामा सहभागी गराउन सक्छन् । महामारीका कारण ९ महिना लाइसेन्सको वितरण रोकिँदा ७ देखि ९ लाख व्यक्ति अहिले लाइसेन्स लिने र वर्ग थप गर्ने योजनामा रहेको विभागको अनुमान छ । प्रवक्ता भुसाल अहिलेको अवस्थामा कुनै व्यक्तिले लाइसेन्स प्राप्त गर्ने योजना बनाएमा करिब ५ महिनासम्म परीक्षाकै लागि कुर्नुपर्ने बताउँछन् । त्यसपछि लाइसेन्स छापिएर हात पार्न अर्को ३ महिनासम्म समय लाग्नेछ ।

यसरी तत्कालै फारम भर्नेले सबै प्रक्रिया पुरा गरेर प्रिन्ट भएको लाइसेन्स प्राप्त गर्नका लागि करिब एक वर्षसम्म कुर्नुपर्ने देखिएको छ । विगतमा प्रक्रिया पुरा गरेर लाइसेन्स हात पार्न दुई वर्ष कुनुपर्ने अवस्था थियो । अहिले मास प्रिन्टर ल्याएपछि अवस्था केही सहज बनेको छ । महामारीमा नयाँ लाइसेन्स वितरण नभएपछि छपाइको ‘ब्याकलग’ फुकाएको विभागलाई अब लाइसेन्स परीक्षा कुरिरहेका चालकहरुको चाप घटाउन मुस्किल पर्ने देखिएको छ । लाइसेन्सको परीक्षा दिन नै महिनौं कुर्नुपर्ने अवस्था आउने भएपनि विभाग र सम्बन्धित लाइसेन्स कार्यालयसँग यसको विकल्प छैन । विभागसँग अहिले नवीकरणका लागि पेश भएका करिब साढे दुई लाख लाइसेन्स पनि प्रिन्ट हुन बाँकी छ । विभागको मेसिन केही समय बिग्रिएपछि लाइसेन्स छपाइ प्रभावित भएको थियो । तर, विदेशबाट नै प्राविधिक आएर मेसिन मर्मत गरेका छन् ।

विभागसँग अहिले लाइसेन्स छाप्ने कार्ड एक लाख पनि छैन । त्यसैकारण विभागले नयाँ ठेक्का गरेर कार्ड आपूर्ति गर्न एक फ्रान्सेली कम्पनीसँग सम्झौता गरेको छ । सो कम्पनीले १४ लाख कार्ड विभागलाई उपलब्ध गराउनुपर्छ । बाँकी कार्डमा लाइसेन्स छाप्ने काम भइरहेको छ, अब थप कार्डहरु पनि नयाँ ठेकदारमार्फत आपूर्ति सुरु हुन्छ,’ उनी भन्छन्, ‘अबको एक वर्षको माग १४ लाख कार्डले थेग्छ भन्ने अनुमान छ ।’ विभागले लाइसेन्स छपाइका लागि अर्को नयाँ मेसिन ल्याउने प्रक्रिया अघि बढाउन खोजेको थियो । तर, अहिलेसम्म प्रक्रियामा अलमल भएको छ ।