bir-hospital_2vLssmxgB6.JPG

काठमाडौँ —जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । वीर अस्पतालमा कोरोना भाइरस कोभिड—१९ सङ्क्रमितको उपचारमा खटाएका २ सय जना आवासीय चिकित्सकहरूले बिहीबार आन्दोलन गरेका हुन् । आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका अन्य सेवामा सरिक नभइ अस्पताल परिसरमा धर्ना दिएका छन् । कोरोना सङ्क्रमितहरूको उपचारमा खटिएका आवासीय चिकित्सकलाई कोभिड—१९ जोखिम भत्ता नदिएपछि आन्दोलित भएका हुन् ।

अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी कोभिड बिरामीको उपचारमा संलग्न भएपनि जोखिम भत्ता दिन नसकेको वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताएका छन् । अस्पतालसँग बजेट नभएकाले सबैलाई जोखिम भत्ता दिन नसकिएको उनको भनाइ छ । यसअघि अस्पतालले स्वास्थ्यकर्मीहरूलाई बजेटको अभाव देखाउँदै एक महिनाको मात्रै जोखिम भत्ता दिएको छ ।