काठमाडौं— अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानासँग लिखित जवाफ माग गरेको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानमन्त्री मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुङ्गानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो ।
पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराएका थिए । त्यस्तै पूर्वसभामुख ढुङ्गानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गरेका थिए । ४ पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । त्यस्तै पूर्वसभामुख ढुङ्गानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी टिप्पणी गरेका थिए । पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखको टिप्पणीले अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा प्रभावित गर्न खोजेको निवेदकको जिकिर थियो ।