Army-1.jpg

काठमाडौं – साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको छ । आर्मी क्लबले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ ।

एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मी लगातार चौथो पटक फाइनलमा पुगेको हो । पहिलो संस्करणमा पुलिससँग उपाधि बाँडेको आर्मी त्यसपछि लगातार दुई पटक फाइनलमा पराजित भएको थियो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राजेश पुलामीको अर्धशतक मद्दतमा पूरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । जवाफमा बागमतीले ४०.२ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ३५ रन मात्र बनाएको थियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ४७ रन बनाए । लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको बागमतीले निरन्तर विकेट गुमाउँदा अलआउट भयो । २ सय ३० रनको लक्ष्य पछ्याउ ब्याटिङ गरेको बागमतीको सुरुवात राम्रो हुन सकेन । बागमतीले पहिलो १० ओभरमा जम्मा २६ रन बनाउँदा सुरुवाती ५ विकेट गुमाएको थियो ।