Kp-Sharma-Oli.png

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटकको आफ्नो नेतृत्वको सरकार माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको आरोप लगाएका छन् । आफू पक्षीय नेपाल ट्रेड युनियनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उचालेर नेपाल, खनाल र गौतमले सरकार ढालेको बताएका हुन् । उनले भने, ‘अघिल्लो पल्ट मेरो नेतृत्वको सरकार ढाल्ने मान्छे को–को हुन ? तपाईं हामी सबैलाई थाहा छैन र? पुष्पकमल दाहाल त अर्कै पार्टीमा थिए । उनलाई उचालेर नढाली हुँदैन भन्ने मान्छे माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम नै हो ।’

अहिले आएर स्थायित्वको कुरा गर्ने उनीहरुले आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकारलाई काम गर्न नदिएर संसद विघटन गर्न बाध्य बनाएको ओलीको आरोप छ । दाहाल–नेपालले पार्टी भित्र क्षमता र योग्यताका आधारमा भन्दा पनि आफ्नो मान्छेलाई काखिच्याप्ने गरेको ओलीको भनाइ छ। पार्टी सबैको भन्दै पार्टीभित्र त्यस्तो प्रवृति नचल्ने उनले बताए । ओलीले भने, ‘सबैको पार्टी हो। सबैले उचित सम्मान र कदर पाउनुपर्छ। उचित अवसर पाउनुपर्छ । उचित जिम्मेवारी पाउनुपर्छ । पार्टी सबैको अभिभावक हो,उहाँहरुमा त्यो भावना छैन ।’