corona_test_jpg.jpg

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको छ । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामै ४ वटा पीसीआर मेसिन छन्, जसमध्ये एउटा मात्र सञ्चालनमा रहेको छ । दुईवटा पोर्टेबल मेसिन थन्किएका छन् । स्वीस सरकारबाट अनुदानमा आएको रोस कम्पनीको मेसिन रिएजेन्ट किट नभएर प्रयोगविहीन भएको छ । तर प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस जाँचका लागि एउटा मात्र मेसिन सञ्चालनमा ल्याएको छ ।

प्रदेश १ मै कोशी अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल झापा, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिन रहेका छन् । विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्यूरो अस्पतालमा पनि पीसीआर मेसिन सञ्चालनमा आइरहेका छन् । हिजोआज परीक्षणका लागि पर्याप्त स्वाब नआउँदा ल्याबहरु पूर्ण क्षमतामा चलेका छैनन् ।

तर प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने नयाँ पीसीआर मेसिन खरिद गर्ने तयारी गरेको छ । ‘प्रदेश १ प्रयोगशालामा दुई वटा चाइनिज र एउटा रोस कम्पनीको मेसिन प्रयोगविहीन छ । बिग्रिएको हो भने मर्मतका लागि दुई वर्षको वारेन्टी हुन्छ’ स्रोतले भन्यो, ‘तर फेरि सोही प्रकृतिको मेसिन खरिद गर्नु गलत हो ।’