sunuwai_M7nEOJh5uy.jpg

काठमाडौं — प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा बिहीबार ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको दुई पङ्क्ति गुञ्जियो । वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उक्त गीतलाई नेपालको संविधानसँग तुलना गरेका थिए । पहिलो संविधानसभाको समयमा उक्त गीत निकै चर्चित रहेको भन्दै उनले एउटा प्रसङ्ग स्मरण गराएका थिए । त्यो बेला माओवादी फरक पृष्ठभूमिबाट आएको तर उसकै एजेण्डाअनुसार संविधानसभाको निर्वाचन भएर पनि संविधान बन्न नसक्ने अवस्था सिर्जना भएपछिको परिस्थितिसँग उक्त गीतका उल्लेखित हरफ मेल खाने उनको भनाइ थियो । तर, दोस्रो संविधानसभाबाट संविधान बनेको र त्यो संविधानले प्रतिनिधिसभा विघटन परिकल्पना नगरेको उनले जिकिर गरे ।

वरिष्ठ अधिवक्ता घिमिरेले पहिलाका चारवटा विघटन सिफारिसको जगमा नयाँ संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी प्रावधान नराखिएको बताए । ‘तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले गरेको प्रतिनिधिसभा विघटनकाृ सिफारिसको जगमा यो संविधानमा त्यस्तो व्यवस्था गरिएको हो,’ उनले भने । प्रतिनिधिसभाको मुख्य नेता मानिने सभामुखलाई समेत थाहा नदिइ विघटनको सिफारिस गरिएको जिकिर गर्दै उनले यस्तो कार्य व्यवहारिक पनि नभएको र न्यायको सिद्धान्त अनुसार पनि नरहेको दावी गरे ।

प्रतिनिधिसभा विघटनको सिफारिस अनिश्चयात्मक रहेको भन्दै उनले राष्ट्रपतिले यस्तो अनिश्चयात्मक सिफारिस आउँदासमेत कानुनविद्हरुसँग छलफल नगरी प्रमाणीकरण गरेको भन्दै उक्त कार्यले संविधानको मर्मलाई कुल्चिएको बताएका छन् ।