pramod-regmi.jpg

काठमाडौं – धनुषामा १ जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । प्रहरीका अनुसार ५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा कम्पनी प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र भेटिएको छ । रेग्मीको टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा रेग्मीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । रेग्मीको शव बुधबार बिहान ९ बजेतिर फेला परेको उनका आफन्त बिनोद पाण्डेले बताएका छन् ।

रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका –७ चुआरेका बासिन्दा हुन् । उनी मंगलबार बिहान मात्रै घरबाट फर्किएका थिए । साँझ ७ बजेतिर आफ्नो उद्योग आएका उनी साथीभाइसँग बसेर मदिरा सेवन गरेको पाण्डेले बताएका छन् । ‘राति १० बजेतिर उहाँले आफ्ना छोराछोरीसँग फोनमा कुरा पनि गर्नुभएको छ’ पाण्डेले भने, “तर बिहान मृत फेला परे ।” घर परिवारलाई थाहै नदिई प्रहरीले मुचुल्का उठाएर शव परीक्षणका लागि अस्पताल पठाएको उनको भनाइ रहेको छ । पछि हामीले थाहा पाएर यहाँ आउदा शव प्रादेशिक अस्पताल जनकपुरधाम पोष्टमार्टमका लागि पु¥याइसकिएको उनले बताएका छन् । पाण्डेका अनु्सार प्रहरीले उठाएको मुचुल्कामा रेग्मीको टाउकोमा ७ इन्च लामो २ इन्च गहिरो घाउ रहेको उल्लेख छ ।

घट्ना शंकास्पद रहेको धनुषा प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले पनि रक्ताम्य अवस्थामा पाण्डेको शव फेला परेको बताए । ‘घट्ना शंकास्पद देखिन्छ,’ उनले भने, “शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानलाई अगाडि बढाइएको छ ।” मृतकका आफन्तले रेग्मीको शवको परीक्षण घोपा क्याम्प धरानमा गर्नुपर्नेमा जोड दिएका छन् । मृतक रेग्मीसहित ४ जना मिलेर महेन्द्रनगरमा डिष्टिलरी सञ्चालन गरेका छन् । उनी डिष्टिलरीका निर्देशक बनेर काम गर्दै आएका थिए ।