fire_1LTm45Ig63.jpg

सुर्खेत —मङ्गलबार साँझ साढे ५ बजेतिर जुम्लाको तिला गाउँपालिकाको गोठी बस्तीमा आगलागी भयो । बस्तीमा आगो लाग्दा ३२ घर जलेर नष्ट भएका छन् भने थुपै चौपाया मर्नुका साथै करोडौँको क्षति भएको छ । आगोले अन्नपात, लुगाफाटो लगायत सबै क्षति हुँदा नागरिकहरु बिचल्लीमा परेका छन् । स्थानीय सरकारले राहत वितरण र व्यवस्थापनमा केही सहयोग गरेता पनि प्रदेश सरकारले भने दुई दिनसम्म पीडित बस्तीमा आफ्नो उपस्थिति नै जनाउन सकेन । आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो ।

मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल बोहोरा पनि गोठी गाउँमा बिहीबार बिहान पुगेको बताइएको छ । ओढ्ने ओछ्याउने, कपडा, पाल, भाँडा, दाल, चामल, नुन तेललगायतका सामग्रीसहित टोली पुगेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार कठोर जाडोको समय र समुद्री सतहदेखि करिब तीनहजार मिटर उचाइमा पर्ने गोठी गाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १ सय ५० केजी दाल, २० केजी खुर्सानी तथा बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको छ ।

आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका छन् । विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुक्खा क्षेत्र भई पानीको अभाव हुँदा बस्ती पूर्णरूपले खरानी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ३ करोडभन्दा बढीको क्षति भएको बताइएको छ ।