manag-fire-1.jpg

काठमाडौं – मनाङको नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । आगोले बृहत रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा नम्बर ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ, भने वडा नम्बर ५ थोँचे खतरामुक्त छ ।

आगो बस्ती नजिकै आइपुगेकाले आगो निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन् । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको समेत उनले जानकारी दिएका छन् । उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको पनि बताएका छन् ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छ । अहिले सम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको उनको भनाई रहेको छ । आगोको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि १ सय जनाको टोली आगो निभाउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनले भने, ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्ती देखि १ सय मिटर टाढा मात्रै आगो छ ।’ उनले नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।