Swosthani-Shalinadi-12-1024x683.jpg

काठमाडौं —हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने र सुनाउने परम्परा छ ।

कोभिड—१९ को महामारीको कारण शालीनदी मेलाका लागि माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले बढीमा ५० जना व्रतालु राख्ने गरी व्रत पूजा सञ्चालन गरेको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताएका छन् । गत वर्ष व्रतालु सङ्ख्या ३ सय भन्दा धेरै थियो । यो वर्ष कोभिड—१९ को महामारीका कारण समितिले ५० को सङ्ख्या तोकेको हो । व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालुहरु र भक्तजनहरुबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्ने गर्दछ ।