Abudhabi-T-10-League.jpg

काठमाडौं — चौथो संस्करणको आबुधाबी टी—१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी—१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । नेपालका तीन खेलाडी पहिलो पटक टी—१० लिगमा छनोट भएका हुन् । यस्तै गत सिजन खेलेका पारस खड्का यस पटक मेन्टरको रुपमा छन् । सोमपाल कामी मराठा अरेबियन, करण केसी पुने डेभिल्स र कुशल मल्ल टीम आबुधाबीमा समावेश छन् । यस्तै पारस खड्का टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् ।

आजदेखि सुरु हुने लिगको उद्घाटन खेलमा सोमपाल कामी सम्मिलित मराठा अरेवियन्सले नर्दन वारियर्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ । मराठा साविक विजेता समेत हो । तर यस पटक टिममा धेरै परिवर्तन भएको छ । यस्तै राति ८ बजे करण केसी सम्मिलित पेनेल डेक्कन ग्लाडिएटर्ससँग खेल्नेछ । पुनेले इंग्ल्याण्डका डेभिड मालानलाई आइकन प्लेअरको रुपमा एक दिनअघि अनुबन्ध गरेको छ । यस्तै तेस्रो खेल बेंग्ला टाइगर्स र दिल्ली बुल्सबीच हुनेछ ।

नेपाली खेलाडी रहेको दुई खेल आज हुने भएकोले नेपाली क्रिकेट प्रेमीको चासो टी—१० लिगतिरै छ । अब सोमपाल र करण आज खेल्न पाउँछन् कि पाउँदैनन् हेर्न बाँकी छ । कुशल समावेश आबुधाबीले शुक्रबार डेक्कनसँग पहिलो खेल खेल्नेछ ।