dahal-nepal.jpg

काठमाडौँ – राजनीतिक रुपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमाले माघ २८ गते प्रधानमन्त्री केपी ओलीविरुद्धको प्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय संघर्ष समितिले आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल नेपाल पक्षले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संसद पुनःस्थापनाको विकल्प नभएको बताउँदै देशव्यापी विरोध प्रर्दशन र आमसभा आयोजना गर्दै आएका छन् । बैठकलाई सम्बोधन गर्दै नेपाल दाहालले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन विकल्प नरहेको उल्लेख गरेका छन् ।

उनीहरुले बढीभन्दा बढी जनता सडकमा ल्याउन पार्टीका तल्ला तहलाई निर्देशन दिएको रिजालले जानकारी दिए । यसअघि माघ ९ गते नेपाल दाहाल पक्षले काठमाडौँमा सरकारको गैर संवैधानिक कमदका विरुद्ध प्रर्दशन गरेको थियो । उक्त कमदविरुद्ध नेपाली कांग्रेसले पनि चरणबद्ध आन्दोलन गर्दै आएको छ । सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला, स्थानीय तह र वडा तहसम्म कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ । सरकारको कदमविरुद्ध दुवै पक्ष एक जुट भए पनि संयुक्त आन्दोलन भने गर्न सकेका छैनन् ।