oli.jpg

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा भइरहेको टिका टिप्पणीप्रति उनका प्रेस सल्लाहाकार सूर्य थापाले आपत्ति जनाएका छन् । थापाले ओलीले पशुपतिमा गरको पूजा र निरीक्षण केही वर्षअघि प्रचण्डले गरेको भैँसी पूजा जस्तो नभएका तर्क गरेका हुन् । कम्युनिस्ट भएर पनि पशुपति गएर विशेष पूजा गरेपछि त्यसलाई धर्म निरपेक्षसँग जोडेर राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । पशुपति विकास कोषका संरक्षकसमेत रहेका ओलीेले माघ १२ गते बिहान पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको निरीक्षणका साथै विशेष पूजा एवं दीप प्रज्वलन गरेका थिए ।

त्यसक्रममा ओलीले सुनको जलरी निर्माणका लागि चाहिने ६५ करोड रुपैयाँमध्ये सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने घोषणा गरेका थिए ।ओलीको पशुपति यात्राको बचाउ गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १ सय ४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ । दैनिक हजारौँ जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’

थापाले ओलीको उक्त कार्य प्रचण्डले गरेको भैँसी पूजा जस्तो नभएको तर्क अघि सारेका छन् । उनले भनेका छन्, ‘भैँसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिँदैन । बुझ्ने आआफ्नै स्तर हुन्छ । फरक चाहिँ यत्ति हो ।’