2021-01-27_amfkmgmdg.png

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्नुलाई तमासा गरेको भन्दै व्यङ्ग्य गरेका छन् । बुधबार राजधानीको सभागृहमा आदिवासी जनजाति महासङ्घ नेपालको कार्यक्रममा बोल्दै उनले प्रचण्ड–नेपाल समूहका नेताहरुले विनासको बाटो रोजेको बताएका हुन् । “कसका लागि उफ्रिएर हिँड्याछन् । उनीहरुले एक हप्तामा कहाँ छौँ भन्ने थाहा पाउन छाडेर ‘हामी यहाँ छौँ’ भन्दै माइतीघरमा आइपुगे । हामीसँग निर्वाचनमा आउन तर्सिएर किन हिँडिरहेका छन् ?,’’ उनले भने, “हामी हौँ आधिकारिक पार्टी भनेर निर्वाचन आयोग पुगे । पछि आधिकारिक होइनौँ भनेर फिर्ता लिए । के तमासा गरेका हुन्, थाहा छैन ।’’

उनले आफूलाई पार्टीबाट निकालेर ’इन्टरनेसनल प्रहसन’ गरिएको बताएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी फुटाएर जाने भए अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेको बताए । प्रचण्डजीलाई मैले भनेको थिएँ, धुम्बाराहीमा भाडाको घरमा बसिरहेका छौँ । पार्टी कार्यालय भुइँचालोले भत्केको छ । भाडाकै घरमा बसौँला । पेरिसडाडामा उहाँको पार्टी भवन छ । म त्यहाँ हेर्न पनि जान्नँ, खोज्दा पनि खोज्दिनँ । लोभ पनि छैन । अनि, हाम्रोतिर आँखा किन लाउने ? त्यसकारण पेरिसडाँडा तपाइँको लानुस्,’’ उनले गाउँखाने कथा सुनाउँछु भन्दै भने, “जनताजति सबै हाम्रा, राम्रा मान्छे सबै हाम्रा, काम नलाने बिग्रिएका सबै तपाइँका लिएर जानुस् ।’’ पार्टीमा यसअघि खुट्टा तानेर काम गर्न नदिएको बताउँदै उनले अब काम गरेर देखाउने जिकिर गरे ।