Shankar-Rana.jpg

काठमाडौं – नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गत संस्करणको प्रधानमन्त्री कपमा एपीएफ क्लबलाई पुलिसले पराजित गरेको थियो । शनिवार हुने फाइनलमा एपीएफले बिहिबार खेलिने त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश बीचको दोश्रो सेमीफाइनलको विजेतासङ्ग प्रतिस्पर्धा गर्नेछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा एपीएफले दिएको २ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल पुलिस क्लबले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । पुलिसको ब्याटिंगमा पवन सर्राफले सर्वाधिक ४० रन, राशिद खानले ३४ रन तथा दिपेन्द्र सिंह ऐरीले ३३ रन योगदान दिएका थिए । लक्ष्य पछ्याउने क्रममा पुलिसले पहिलो ३ विकेट १५ रनको योगफलमा गुमाएको थियो । ओपनर सुनिल धमला ३ र कुशल भुर्तेल खाता नखोली आउट भए भने अमित श्रेष्ठले ८ रन बनाउन सफल भएका थिए ।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र अनिल साहले ४६ रनको साझेदारी गरे । २० औं ओभरमा अनिललाई कमल ऐरीले बोल्ड गर्दै साझेदारी तोडे। २६ औं ओभरमा दिपेन्द्रलाई शरद भेसावकरले विकेटकिपर सुबास खकुरेलबाट क्याच आउट गराए। ३२ औं ओभरमा कप्तान मन्जित श्रेष्ठलाई भेसावकरले क्याच आउट गराए। एक किनार सम्हालीरहेका पवन सर्राफलाई अविनाश बोहराले ४१ औं ओभरमा क्याच आउट गर्दै एपीएफलाई खेलमा हावी गराए। अन्तिममा रशिद खान र आरिफ शेखले केहि आक्रामक सट खेले पनि जित्न पर्याप्त भएन। पहिलो इनिंग्समा घाइते भएका आरिफ शेख दोश्रो इनिंगमा १० औं नम्बरमा ब्याटिंग गर्न आएका थिए । एपीएफमा देब्रे हाते स्पिनर भुवन कार्कीले ४ विकेट लिएका थिए ।

एपीएफको बलिंगमा देब्रे हाते स्पिनर भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए । कमल सिंह ऐरी, अविनाश बोहरा र शरद भेसावकरले समान २ विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । एपीएफको लागि शंकर रानाले सर्वाधिक ४४ रन तथा भुवन कार्कीले ४२ रन बनाए । सन्दिप जोराले ३४ रन, सुबास खकुरेलले १९ रन तथा शरद भेसावकरले १८ रन बनाए ।

एपीएफको सुरुवात निकै खराब रहेको थियो । पाँचौ ओभरमा आरिफ शेखलाई राशिद खानले आफैद्वारा क्याच आउट गराए । त्यसपछि सुबास खकुरेल आठौँ ओभरमा अरिफ शेखबाट बोल्ड भए । १२ औं ओभरमा कप्तान शरदलाई आरिफले विकेटकिपर अनिल साहबाट क्याच आउट गराए । १४ औं ओभरमा सुमित महर्जनलाई आरिफले तेश्रो शिकार बनाउने क्रममा पवन सर्राफबाट क्याच आउट गराए ।

४३/४ को अवस्थाबाट पाँचौ विकेटको लगी शंकर राना र भुवन कार्कीले ६४ रनको साझेदारी गर्दै योगफल १ सय पार गराए । ३० औं ओभरमा जोरालाई सागर ढकालले बोल्ड गरे । ३९ औं ओभरमा शंकर रानालाई दिपेन्द्र ऐरीले क्याच आउट गराए । ४५ औं ओभरमा अमर रौटेलालाई ऐरीले राशिद खानबाट क्याच आउट गराउदै दोश्रो विकेट लिए । ४९ औं ओभरमा भुवन कार्कीलाई ललित राजबंशीले स्टम्प आउट गराए । अन्तिम ओभरमा अविनाश बोहराले राशिद खानलाई १ चौका र १ छक्का हिर्काउदै योगफल २ सय पार गराए ।


141075252_1782334495262832_1770272101102424016_o.jpg

नेपाल पुलिस क्लबको बलिंगमा दायाँ हाते पेसर आरिफ शेखले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ३१ रन खर्चिए। ललित राजबंशी र दिपेन्द्र ऐरीले समान २ विकेट लिए भने राशिद खान र सागर ढकालले १र१ विकेट लिए । प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेलमा बिहिबार त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।