online_sharetrading.jpg

काठमाडौं —बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अङ्कमा पुगेको छ । नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर ४४६ दशमलव ३८ अंकमा झरेको छ । कारोबार रकम भने ८ अर्ब भन्दा थोरै माथि पुग्यो । दिनभर भएका ५९ हजार १ सय ५१ कारोबारबाट २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँ पुगेको छ ।

बुधबार कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ । धेरै कमाउनेमा पनि नेपाल लाइफकै लगानीकर्ताहरु देखिएका छन् । नेपाल लाइफको ९.९९ प्रतिशतले सेयर मूल्य वृद्धि भएर २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ । आज विहानमात्रै नेपाल लाईफको सेयर मूल्य समायोजन भएको थियो । नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो ।

नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरिएको हो । मंगलबार २ हजार ८ सय ७२ रुपैयाँ रहेकोमा समायोजन पछिको मूल्य नेपाल स्टक एक्सचेञ्जले २ हजार १ सय ९२ रुपैयाँ तोेकेको थियो । त्यसपछि पनि यस कम्पनीको सेयर मूल्य वृद्धि भएको हो ।