_coronavirus_1.jpg

एजेन्सी – विश्वभरी कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । अमेरिकामा २ करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा ४ लाख २० हजार जनाको मृत्यु भइसकेको छ ।

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । अमेरिकाको सम्पूर्ण जनसङ्ख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनले जानकारी दिएका छन् ।

अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले जानकारी दिएका छन् । कोरोना भाइरसको कारण बेलायतमा पनि १ लाख भन्दा बढी मानिसको मृत्यु भएको बेलायतको सरकारी माध्यमले बताएका छन् । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सात करोड २९ लाख भन्दा धेरै मानिस कोरोना भाइरस मुक्त भएका छन् ।