supreme-court.jpg

काठमाडौं – संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका हुन् । मुद्दाको पेशी यही माघ १५ गते तोकिएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै रिट निवेदकले उनीहरुविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायँको माग समेत गरेका छन् ।

सर्वोच्च अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसूरदारलाई १ वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने कानुनी व्यवस्था समेत रहेको छ । पूर्वप्रधान्यायाधीशहरु रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले पुस २४ मा संयुक्त विज्ञप्ति निकालेर संसद विघटनलाई असंवैधानिक भनेका थिए ।