annapurna-hotel-2.jpg

काठमाडौं —होटेल बन्द रहेको अवस्थामा घरमै बस्नुपर्ने कर्मचारीलाई पाँचतारेको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने सहमतिसँगै होटेल सञ्चालक र कर्मचारी मजदुर सङ्गठनबीच सामूहिक सहमति भएको छ । तर, होटेल सञ्चालन भएको अवस्थामा भने चक्रीय प्रणालीमार्फत आवश्यकताका आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीलाई काममा लगाइनेछ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीले भने निजले खाइपाई आएको पुरै पारिश्रमिक पाउनेछन् । काममा नबोलाईएको अवस्थामा घरै बस्नु पर्ने भएमा भने होटेल सञ्चालकले पछिल्लो सहमति अनुसारको रकम दिने भएका छन् ।

यसअघि ६ महिना अगाडी मजदुर र होटेल सञ्चालकबीचको सहमतिको अवधि १ जनवरीबाटै सकिएको थियो । त्यसपछि विभिन्न चरणमा बसेका बैठकमा यस्तो सहमति जुटेको होटेल सङ्घ नेपालले जनाएको छ । आगामी एक वर्षका लागि मान्य हुने गरी भएको यो सहमति पत्रमा सङ्घका तर्फबाट अध्यक्ष सृजना राणाले हस्ताक्षर गरेकी छिन् । मजदुरको तर्फबाट नेपाल स्वतन्त्र होटेल मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवर, अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार आगामी एक वर्षभर वा सहमतिको अवधि कायम रहेको अवस्थासम्म तालिमा आएका, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई होटेलले काममा लगाउन पाउने छैनन् । कामदार आवश्यक हुँनासाथ जगेडामा घरमा बसेका कर्मचारीलाई बोलाउनु पर्नेछ । तर बैंकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई व्यवस्थापनले काममा लगाउन सक्ने भएको छ । अर्कोतर्फ कुनै श्रमिक तथा कर्मचारीले एक महिनामा न्यूनतम १५ दिनभन्दा कम, जती दिन कार्य गर्ने हो त्यति दिनको खाइपाई आएको पारिश्रमिक सँगै सहमति अनुसार तोकिएको मासिक रकम समेत थप पाउने छ । तर, नियमित १५ दिनभन्दा माथि काममा लगाइएका कर्मचारीले भने खाइपाई आएको कार्यदिनको पारिश्रमिक पाएमा सहमतिअनुसार दिने भनिएको थप रकम पाउने छैनन् ।

यस्तो छ सहमति

क) पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक पाँच हजार रकम उपलब्ध गराईनेछ ।

ख) चारतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक चार हजार रकम उपलब्ध गराईनेछ ।

ग) तीनतारे होटल र रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक तीन हजार रकम उपलब्ध गराइनेछ ।

घ) दुईतारे होटल र रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक दुई हजार पाँच सय रकम उपलब्ध गराइनेछ ।

ङ) एकतारे होटलररिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक दुई हजार रकम उपलब्ध गराइनेछ ।

च) पर्यटक स्तरीय होटलररिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई आपसी समझदारीमा गरिनेछ ।

अब सम्पूर्ण होटल प्रतिष्ठान र त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता गराउनु पर्ने सहमति समेत बनेको छ यो सहमतिलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराउने समेत सहमति दुबै पक्षबीच भएको छ ।